काठमाडौं। २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला जलविद्युत आयोजना अबको साताभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ। लमजुङमा निर्माण सम्पन्न भएको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन लागेको हो।
अप्पर स्याङ्गे हाइड्रो पावर कम्पनीले निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सम्पन्न गरेको छ। २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको निर्माण सकिएर सिभिल संरचना तथा जडान भएका उपकरणहरूको परीक्षण सकिएको आयोजना इन्जिनियर जिवन केसीले जानकारी दिए।
संरचना तथा उपकरणको परीक्षणको चरण पूरा भएकोले आगामि एक साताभित्र उत्पादन परिक्षण सुरु गरिनेछ। एक साताभित्र नेपाल विद्युत प्राधिकरणका प्राविधिक गएर उत्पादन परिक्षण सुरु गर्नेछन, आयोजनाबाट उत्पादन भएको विद्युत प्रसारण प्रणालीमा जोडिएपछि २ सातासम्म परीक्षण उत्पादन चल्नेछ।
आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइन मार्फत १२ किलोमिटर दुरीमा रहेको खुदी सबस्टेसनमा जोडिनेछ। उक्त आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ। हिउँदमा २.८६८ गिगावाट घन्टा र बर्खामा ११.७४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ।
आयोजनाबाट २०७६ जेठभित्रनै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि विविध कारणले गर्दा ढिला भएको हो। आयोजना ४६ करोड १० लाख ८४ हजार रुपैयाँमा सम्पन्न भएको छ।