नुवाकोट। नुवाकोट जिल्लाको नुवाकोटको बेलकोटगढी नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्नका लागि शिलान्यास गरिएको छ।
भवन निर्माणका लागि नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले बेलकोटगढी नगरपालिका–९ बाघखोरमा संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख गुरुङले नगरपालिकाले सरकारी जग्गा २६ रोपनी आफ्नै नाममा प्राप्त गरेसँगै भवन बनाउन कानुनी प्रक्रिया पूरा गरेर निर्माण थालेको जानकारी दिए। भवन निर्माणका लागी सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदानसहित नगरपालिकाबाट आवश्यक बजेट सुनिश्चित गरेको समेत उनको भनाइ छ।
भवन निर्माण गर्न रु १२ करोड ७४ लाखमा निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको छ । नगरपालिकाको प्रशासनिक कार्य सञ्चालनका लागि सुविधा सम्पन्न तीनतले भवनमा ४० भन्दा बढी कोठा हुने छ ।