काठमाडौं। दोलखाको बिगु गाउँपालिका–५ चिलंखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने भएको छ। हेल्थ नेपाल नामक गैरसरकारी संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरूको सहयोगमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
सामुदायिक केन्द्रका अध्यक्ष प्रवीण खड्काका अनुसार अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र मातहत सञ्चालन हुने छ। अस्पताल सञ्चालनका लागि हेल्थ नेपाल मार्फत २१ कोठे भवन निर्माण हुनेछ। लगभग तीन करोड ८७ लाख रुपैयाँमा भवन निर्माण हुने अनुमान गरिएको छ।
चिलंखामा जन्मिएका छिरिङ शेर्पासँग विवाह गरेकी जर्मन नागरिक सोनिया, जर्मन डाक्टर क्लाउसको अग्रसरतामा अस्पतालका लागि आर्थिक सहयोग जुटेको केन्द्रका अध्यक्ष खड्काले जानकारी दिए। अस्पताल भवन निर्माणका लागि करिब साढे ६ रोपनी जग्गा संस्थाको स्वामित्वमा आइसकेको छ।
अस्पताल निर्माणका लागि प्राप्त जमिनमध्ये दुई रोपनी इको हिमाल नामक संस्थाले खरिद गरिदिएको छ। आधा रोपनी स्थानीय समाजसेवी जेनी खड्काले दान दिएकी छन् भने बाँकी जग्गा २९ जना दाताहरूबाट संकलित रकमबाट खरिद गरिएको खड्काले बताए।
उक्त अस्पताल निर्माणछि बिगु गाउँपालिकाको वडा नम्बर ५, ६, ७, र ८ का स्थानीय बासिन्दाहरूले स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार पाउन नसकेका स्थानीयले सिँगटी बजारमा रहेको सिगटी अस्पताल वा सदरमुकाम चरिकोट उपचार गर्न आउनुपर्ने बाध्यता छ।