नुवाकोट। उपत्यका बाहिर बसोबास गर्ने नागरिकलाई सरल र सुलभ दरमा विशेषज्ञ सेवामा पहुँच विस्तार गर्ने योजना अनुसार ५० शय्यामा स्तरोन्नती गरेर स्टार नुवाकोट अस्पताल सञ्चालनमा ल्याएको छ। ललितपुरको सानेपा–२ स्थित स्टार अस्पतालले नुवाकोटको विदुरस्थित ढुंगे–१ मा अस्पताल सञ्चालनमा ल्याएको हो।
औपचारिक रुपमा निर्मित अस्पतालको उद्धघाटन गर्दै स्टार अस्पताल ललितपुरका कार्यकारी अध्यक्ष किशोरकुमार मर्हजनले नुवाकोट, धादिङ्ग र रसुवाका ३ लाख भन्दा बढी जनसंख्याले सो अस्पतालबाट लाभ लिन सक्ने विश्वास व्यक्त गरेका छन्। यसैगरी अस्पताल उद्धघाटनको अवसरमा चार दिने निस्शुल्क विशेषज्ञ स्वास्थ्य शिविरको साथै सहुलियतमा चिकित्सक उपचार पनि आयोजना गरीएको जनाइएको छ।
स्वास्थ्य सेवामा छुटै पहिचान बनाएको संस्थाको रुपमा स्थापित रहेको स्टार अस्पतालले नुवाकोटमा पनि स्थापना गरिएको स्टार अस्पतालका चिकित्सक निर्देशक डा. शैल रुपाखेतीले जानकारी दिएका छन्। स्टार अस्पताल सानेपामा सबै खालका विशेषज्ञ सेवा नियमित उपलब्ध भइरहेको भन्दै नुवाकोटका जनताको लागि पनि विशेषज्ञ सेवा उपलब्ध गर्नका लागि स्टार नुवाकोट अस्पताल सञ्चालनमा ल्याएको उनले जनाएका छन्।