कैलाली। कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा २५ घर परिवारका लागि सुरक्षित आवास निर्माण गर्न सुरु गरिएको छ।
भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण गर्न लागिएको हो।
नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्ने भएकाले बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन उच्च घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ।
उच्च घर निर्माण भएपछि बर्सेनिको बाढी र डुबानबाट छुटकारा पाइने स्थानीयको विश्वास छ।
पकरियापुरमा ७० लाख ४९ हजार लागतमा निर्माण हुन लागेका ती घरका लागि नगरपालिकाको २४ लाख लगानी छ । त्यसमा राष्ट्रिय दलित नेटवर्कले रु २१ लाख २९ हजार छ सय लगानी गर्दा रु २५ लाख ३० हजार तीन सय २२ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ । एउटा घरमा दुई कोठा र एउटा शौचालय हुनेछ।