काठमाडौं। भक्तपुर नगरपालिकाले वडा नम्बर ६ अँचापोखरी परिसरमा आदर निकेतन भवन निर्माण गर्ने भएको छ। समाजका ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा–सुविधा उपलब्ध गराउन नगरपालिकाले अँचापोखरी परिसरको उत्तर–पश्चिम क्षेत्रमा आदर निकेतन बनाउन लागेको हो।
नगरप्रमुख सुनील प्रजापतिले आदर निकेतन भवनको शिलान्यास गर्दै नगरपालिकाले चुनावी घोषणापत्रमै ज्येष्ठ तथा समाजका आदरणीय व्यक्तिको सुविधाका लागि आदर निकेतन खोलिने उल्लेख गरिएकाले सोहीअनुसार निर्माण अगाडि बढाइएको उनले जानकारी दिएका छन्।
त्यहाँ रहेका ज्येष्ठ नागरिकहरुको हेरविचार, पालनपोषणका निम्ति नगरपालिकाले गरिब जनताको पहुँचसम्म पुग्न सक्ने गरी आदर निकेतन सञ्चालन गर्न लागेको हो। यसैगरी नगरप्रमुख प्रजापतिले नगरबासीलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखी ख्वप अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिएका छन्।
सोही कार्यक्रममा आदर निकेतन भवन निर्माण उपभोक्ता समिति अध्यक्षले उपभोक्ता समितिमार्फत बन्न लागेको भवनका लागि आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा गरिएको जनाएका छन्।