काठमाडौं। बुटवलको मिलनचोकमा ५० करोड लगानीमा यस क्षेत्रमै पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालनमा आएको छ। लगभग ५ कठ्ठा आफ्नै स्वात्विको जग्गामा नेपालीपन झल्किने गरी निर्माण भएको यो तीन तारेस्तरको होटेल हो।
व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल संचालनमा ल्याएका हुन। होटेलमा ४ वटा स्वीट रुम र बाँकी ३६ वटा डिलक्स रुम छन् । होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने संचालक रानाले जानकारी दिए।
कालिकापथ हाइवेको प्राइम लोकेसनमा रहेको होटलमा पर्याप्त पार्किङ स्थल रहेको उनले बताए। कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्थामा पनि मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन नै हो भन्ने आत्मविश्वासका साथ बुटिक होटेलमा लगानी गरिएको उनले जानकारी दिए।
होटेलले आफ्ना पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, पाल्पाको रानीमहल,लुम्बिनी लगायतका स्थानमा घुमाउन र ती स्थानको पर्यटन प्रवर्द्धन गर्न टुर प्याकेज पनि सञ्चालन गर्ने योजना बनाइएको छ। होटलमा ६० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।