सुनसरी। सुनसरीको दुहवी नगरपालिकाले बहुउद्देश्यीय भवन बनाउन लागेको छ। भवन निर्माणका लागि ऋण लिन नगर विकास कोषसँग नगरपालिकाले सम्झौता गरेको हो।
सम्झौतापत्रमा नगर विकास कोषका कार्यकारी कृष्णप्रसाद सापकोटा र दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले हस्ताक्षर गरेका छन् ।
नगरपालिकाले वडा नम्बर ६ मा ३२ करोड ८४ लाख २९ हजार रुपैयाँ लागतमा भवन निर्माण गर्न लागेको हो।
सम्झौताअनुसार कुल लागतको ५० प्रतिशत (१६ करोड ४२ लाख १४ हजार रुपैयाँ) ऋण र १० प्रतिशत (३ करोड २८ लाख रुपैयाँ) अनुदान रकम हुनेछ। कुल लागतको ४० प्रतिशत (१३ करोड १३ लाख रुपैयाँ) भने नगरपालिकाले लगानी गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।