पर्वत। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्वतमा रहेको पूर्वाधार विकास कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । कार्यालयको २१ कोठे चार तले भवन निर्माण सम्पन्न भएको हो । कार्यालय प्रमुख गुरुदत्त अधिकारीका अनुसार झण्डै साढे तीन करोडको लागतमा निर्माण भएको भवन भूकम्प प्रतिरोधी क्षमताको र अपाङ्गमैत्री रहेको छ ।
वि.स. २०७८ वैशाख २५ गते भवन निर्माणका लागि अमित बिल्डर्स र कार्यालय बीच तीन करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो । हालसम्म तीन करोड ६ लाख भुक्तानी भएको अधिकारीले बताए । भवनमा कार्यालय प्रमुख, इन्जिनियर, प्राविधिक, प्रशासनिक, लेखालगायत जनशक्तिको लागि फरक फरक कार्यकक्षका कोठा छन् ।
अहिले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भवनमा रहेको कार्यालय आगामी नयाँ आर्थिक वर्षदेखि नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरेको कार्यालय प्रमुख अधिकारीले बताए । साँघुरो कोठा भएका, छरिएका र पुराना भवनमा रहेको कार्यालय एउटै भवनबाट सञ्चालन गर्दा सहज हुने उनले बताए । पूर्वाधार विकास कार्यालय पर्वतमा स्थापना भएको ६ वर्षपछि आफ्नै भवन तयार भएको हो ।
कार्यालय तयार भए पनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यसम्पादनमा भने समस्या छ । चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका १५२ वटा योजनामध्ये अहिलेसम्म ६६ योजना सम्पन्न भइसकेका छन् । कार्यालयका अनुसार जिल्लामा यस वर्ष १६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म कार्यालयको भौतिक प्रगति ४५ प्रतिशत पुगेको कार्यालय प्रमुख अधिकारीले बताए । कारोबार दैनिकबाट