काठमाडौं। टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरु गरेको छ। टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो।
टोखाभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउने क्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र नयाँबसपार्कको भवन भत्काइएको टोखा नगरपालिकाले जनाएको छ।
नगरपालिकाले नयाँबसपार्क नजिक विष्णुमति करिडोरमा निर्माण गरिएका पसलसमेत हटाउन लागेको छ। नयाँबसपार्क पुल नजिक बाँसबाट निर्माण गरिएका ८२ पसल हटाउन लागिएको नगरपालिकाले जनाएको छ।