काठमाडौं। काठमाडौं महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन्। दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित भएको र हाल मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित रहेको सो सामुदायिक कलेजमा करीब रु ९ करोडको लागतमा नयाँ चारतल्ले भवन निर्माण गर्न लागिएको हो।
हाल महानगरले विद्यालय भवन निर्माणको लागि रु ५ करोड सहयोग गरेको छ। कार्यक्रममा फाउण्डेशनका अध्यक्ष, सचिव, बागमती प्रदेशका सदस्यलगायतको सहभागी रहेको थियो। सो कलेजमा विज्ञान, पत्रकारिता, सूचना प्रविधि, अङ्ग्रेजीलगायत विषयमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी हाल १ हजार ५०० विद्यार्थी अध्ययनरत रहेका कलेजका प्रमुख डम्बरबहादुर हमालले जानकारी दिएका छन्।