काठमाडौं। ललितपुरको कुपन्डोलमा बिमा समितिको सुविधा सम्पन्न नयाँ कार्यालय भवन बन्ने भएको छ। नयाँ निर्माण हुन लागेको भवनको सोमबार अर्थमन्त्री जनार्दशन शर्मा र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेका छन्। कुपण्डोलमा हाल बिमा समितिको कार्यालय रहेकै स्थानमा पुरानो भवन भत्काएर नयाँ भवन बनाउन लागिएको हो। पुरानो भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ बनाउन लागिएको हो।
१० रोपनी क्षेत्रफलमा ४१ करोड ९२ लाख रुपैयाँ लागतमा सो भवन निर्माण कार्य थालिएको हो। उक्त भवनको डिजाइन नेपाल इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको हो भने भवन निर्माण कार्य शहरी विकास तथा भवन विभागले गर्ने जनाइएको छ। यसैगरी सो भवनको ग्राउन्ड फ्लोरमा गाडी तथा बाईक पार्किङको व्यवस्था पनि गरिने जनाइएको छ।