काठमाडौं। सिप्रदी, भोटेकोशी, सूर्य नेपाल, अमरावती इन्टरनेशनल जस्ता दर्जनभन्दा बढी कम्पनीमा लगानी गरेका सिद्धार्थ शम्सेर जबराले रविभवनमा ५ अर्ब ४१ करोड लगानीमा द ओबरोय काठमाडौं होटलको निर्माण थालेका छन्। उक्त होटल निर्माण तीन वर्षमा सकिने योजना रहेको छ।
सोल्टी होटलका संस्थापक रहेका पिता प्रभाकर शम्सेर राणाको पदचाप पछ्याउँदै सिद्धार्थले सिप्रम्य होटल्स् एण्ड रिसोर्ट प्रालिका नाममा सो होटल निर्माण थालेका हुन्। लगभग १० वर्ष अघि होटलकै लागि जग्गा किनेर राखेका राणाले होटल निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डसँग छलफल पनि गरेका थिए।
यसैगरी कम्पनीले ४६ रोपनी १० आना क्षेत्रफलमा ८० कोठा र १ सय ६० बेडको होटल निर्माण सुरु गरेको हो। होटलको कुल ग्राउण्ड कभरेज ६ हजार ९ सय ७५ स्क्वायर मिटर हुनेछ भने कुल बिल बिल्टअप एरिया २४ हजार ६ सय ६२ स्क्वायर मिटर हुने जनाइएको छ।
सो होटलको ओपन स्पेस ४० दशमलव ५२ प्रतिशत र ग्रिनरी ३० प्रतिशत हुने योजना रहेको छ। होटल निर्माणको लागि मोकअप बिल्डिङहरु निर्माण गर्न सुरु गरिसकेको छ। ३२ मिटर हाइट रहेने सो बिल्डिङमा चार वटा बेसमेन्ट र ग्राण्ड फ्लोर हुने कम्पनीले जनाएको छ।