झापा। शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा देशकै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास भएको छ। सोमबार संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्वाङले परियोजनाको शिलान्यास गरेका हुन्।
शिलान्यासका क्रममा नेम्बाङले आफ्नै हातले संविधान लेख्ने जनताको चाहना पूरा भएपछि अब मुलुकको आर्थिक समृद्धिका लागि जन सहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पुर्याउने बताए। झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा तीन वर्षअघि यो सौर्य ऊर्जा परियोजना सुरु भएको थियो।
८० करोडको कूल लागत रहने यस परियोजनामा ३० प्रतिशत पब्लिक शेयर रहने र बाँकी ७० प्रतिशत लगानी माछापुच्छ्रे बैंकले गर्ने झापा इनर्जी लिमिटेडका अध्यक्षसमेत रहेका सांसद साँवाले बताए।
नेपाल सरकारबाट विद्युत् उत्पादन अनुमति र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् बिक्री सम्बन्धी पीपीए सम्झौता गरिसकेको झापा इनर्जीले सोलार प्यानल राख्नका लागि शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा २१ बिघा सात कठ्ठा जग्गा खरिद गरिसकेको छ।
यस जग्गामध्ये १८ बिघा क्षेत्रफलमा सोलार प्यानल राखिने र अरु स्थानमा पर्यटकीय एवं कृषि परियोजना सञ्चालन गरिने कम्पनीका सञ्चालक सुभाष भट्टराईले जानकारी दिए।