कास्की। पोखरा महानगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण हुने भएको छ। प्रशासकीय भवन निर्माणका लागि महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ्ले शिलान्यास गरेकी छन्।
भवन निर्माणको लागत १९ करोड ५ लाख रुपैयाँ भ्याट बाहेक रहेको छ भने १२ करोड ५९ लाख रुपैयाँमा भवन निर्माणको ठेक्का लागेको बताइएको छ। करिब ३ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा महानगरले अन्डरग्राउन्ड पार्किङसहितको ५ तले सुविधा सम्पन्न भवन बनाउन लागेको हो।
महानगरले वडा नं ८ स्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र रहेको स्थानमा नयाँ प्रशासनिक भवन निर्माण गर्न गरिने छ। भवन संरचनामा महानगरले प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन/कर्मचारी /आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्टाएको छ।
महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले जनाएको छ।