काठमाडौं। सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको संरचनामा पुस २ गते (शुक्रबार) देखि पानी भर्न सुरु गरिने भएको छ। आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि संरचनामा पानी भरेर कुनै समस्या भए नभएको हेर्न लागिएको हो।
प्रवर्द्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुका अनुसार अहिले आयोजनामा जडान भएका उपकरणहरूको परीक्षण भइरहेकाले संरचनामा पानी भर्ने मिति तय गरेको छ। पानी भरेर संरचनाको अवस्था ठिक भए नभएको हेर्न लगभग २ साताको समय लाग्नेछ।
उपकरणहरूको आन्तरिक परीक्षण सकिएपछि आयोजनाको बाँध, सुरुङ, पाइपलाइनमा पानी हालेर कुनै समस्या भए।नभएको हेर्ने र संरचनाको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु गरिने उनले बताए।
आयोजनाको सबै संरचना निर्माणको काम पूरा भइसकेको छ। आयोजनाको विद्युत दशैअघि नै प्रसारण प्रणालीमा जोड्ने योजना अनुसार काम गरिरहेकोमा गत असारमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोको अवरोधले उत्पादन लम्बिएको हो।
आयोजनाको विद्युतगृहमा १२ मेगावाटका ३ वटा उत्पादन युनिट रहने छन्। आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२ किलोमिटर टाढाको लामोसाँघु सबस्टेसनमा लगेर जोडिनेछ। विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरेको छ। उक्त आयोजना सम्पन्न हुँदा ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।