काठमाडौं। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गर्ने तयारी भएको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैँसेपाटी, ललितपुरमा पुनर्निर्मित भवन सोमबार उद्धघाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सो जानकारी दिएका हुन्।
मन्त्री श्रेष्ठले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न तथा नयाँ श्रमशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न सीप तथा उद्यमशीलता अभिवृद्धिका लागि तालिम केन्द्र सबै प्रदेशमा विस्तार गर्न लागेको जानकारी दिएका छन्। यसैगरी उत्पादनशील रोजगारीका अवसर अभिवृद्धि गरी नागरिकको जीवनस्तरमा सुधार, उच्च र दिगो आर्थिक विकासका लागि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र तत्कालै प्रदेशस्तरमा लगिने र क्रमशः आवश्यकताका आधारमा स्थानीय तहसम्म विस्तार गर्ने तयारी गरेको पनि उनले जानकारी दिएका छन्। वैदेशिक रोजगारीबाट आर्जन भएको सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनको भनाइ छ।
सोही कार्यक्रममा मन्त्रालयका सचिवले नयाँ भवन निर्माण भएपछि तालिम तथा विभिन्न किसिमका परीक्षा सञ्चालन गर्न सहज हुने बताएका छन्। यसैगरी २०७२ सालमा गएको विनासकारी भूकम्पका कारण भत्केको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैँसेपाटी, ललितपुरको भवन ९ करोड २४ लाख रुपियाँ लागतमा निर्माण भएको हो।