रौतहट। रौतहटको गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले शवदाह गृह निर्माण गर्न जग्गा दान गरेकी छन्। गरुडा नगरपालिका ४ स्थित चाँदी खोला किनारमा उपमेयर चौधरीका श्रीमान स्वर्गीय मनोज चौधरीको नामबाट शवदाह गृह निर्माणका लागि उनले जग्गा दिएकी हुन्।
उपमेयर चौधरीले २ कठा १० धुर जग्गाको जग्गा दान गरेकी हुन्। उनले जग्गाधनी प्रमाणपत्र लालपुर्जा गरुडा नगरपालिका वडा नम्बर ४ लाई हस्तान्तरण गरिन् । सो क्षेत्रमा शवदाह गृहको आवश्यकता महसुस गर्दै १० लाख बढी मूल्य पर्ने जग्गा दान गरेको चौधरीले बताइन् ।
कोरोनाको समय अल्पायुमै मृत्यु भएका मनोज कुमार चौधरीको नामबाट शवदाह गृह बनाउन गरुडा नगरपालिकाको मेयर कन्थमणि जयसवालको रोहवरमा वडा ४ का अध्यक्ष सुनिल जयसवाललाई जग्गाको लालपुर्जा हस्तान्तरण गरिएको उपमेयर चौधरीले बताएकी छिन्।