सप्तरी। प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ। जनता समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादवले सोमबार एक समारोहका बीच विश्वविद्यालयको कार्यालय उद्घाटन गरेका छन्।
कार्यक्रममा अध्यक्ष यादवले कृषि शिक्षा महत्वपूर्ण शिक्षा रहेको बताए। यसको अध्ययन, अध्यापन शुरु भए यहीँबाट धेरै कृषि विज्ञ उत्पादन गरेर कृषिलाई राम्रो बनाउन सकिने उनले बताए। कृषि विश्वविद्यालयलाई अगाडि बढाउन सबैलाई सहयोग गर्न आग्रह गर्दै उनले विश्वविद्यालयको भवन निर्माण यसै वर्षदेखि शुरु गर्न प्रदेश सरकारसँग अनुरोध पनि गरे।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको गौरवको रुपमा यो विश्वविद्यालय स्थापना हुने बताउदै, चाँडै वीरगञ्जमा पनि विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गरिने उनले जानकारी दिए। समय अभावका कारण अध्यादेश मार्फतै यो दुवै विश्वविद्यालयको काम अघि बढाइएको भन्दै उनले कृषि विश्वविद्यालयले एक वर्षभित्रै फड्को मार्ने विश्वास दिलाए।
विश्वविद्यालयको काम अघि बढाउन राजविराजस्थित दलित छात्रावास भवनमा यसको कार्यालय राखिएको छ। तत्काल काम अगाडि बढाउन यहाँ कार्यालय राखिएको छ। चाँडै आफ्नै भवनमा यसको कार्यालय स्थापना हुन्छ’ कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताए।