ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको ठुलो फेदीमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। नव निर्मित स्वास्थ्यचौकी भवनको बिहीबार कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बोले उद्घाटन गरेका हुन्।
पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी कोशी प्रदेश सरकारको ५० लाख बजेटमा पाथीभरा क्षेत्रमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो।
नव निर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै पूर्वमन्त्री मेन्याङ्बोले स्वास्थ्य चौकी सञ्चालनमा सहजता ल्याउन आवश्यक फर्निचर, औषधि र थप स्वास्थ्यकर्मीको व्यवस्थापनसमेत गरिने बताए। उनले फर्निचर, औषधि साथै थप जनशक्ति व्यवस्थापनमा सहयोग पुर्याउन आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले २० लाख रुपियाँ बजेट विनियोजन गरेको समेत जानकारी दिए।