जुम्ला। जुम्लाको हिमा गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्न सुरु गरेको छ।
हिमा–५ बाजागाडमा सुविधासम्पन्न प्रशासकीय भवन बनाउनका लागि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाहीले संयुक्तरुपमा शिलान्यास गरेका छन्।
प्रशासकीय भवन निर्माणको लागि स्थानीयले ३ हजार ९ सय वर्गमिटर जग्गा गाउँपालिकालाई निशुल्क उपलब्ध गराएका छन् । हिमा ५ का स्थानीय दानबहादुर शाहीले तीन हजार एक सय र दलविर शाहीले आठ सय बर्गमिटर जग्गा गाउँपालिकालाई निशुल्क प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।
संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेट लगानीमा भवन निर्माण हुनेछ । १० करोड लागतमा बन्ने भवनका लागि संघीय सरकारले ६ करोड उपलब्ध गराउने छ भने पालिकाले चार करोड बेहोर्ने छ ।