काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणको काम काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको जनाएका छन्। २७ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पदा नै काठमाडौँको गहना रहेको भन्दै यसको पुनःनिर्माण र संरक्षण गर्नुपर्ने बताएका हुन्।
उनले हरेक वर्ष ठूलो समस्याको रूपमा रहेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्यको समाधान गर्न पनि कामपाले अग्रसरता लिनुपर्नेमा जोड दिए। उनले कर्मचारी र जनप्रतिनिधिलाई अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी उदाहरणीय काम गर्न अनुरोध गरे।
कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मेघा हल निर्माण, मोनो रेल सञ्चालन र तीनकुनेको बुद्धपार्क निर्माणका लागि केन्द्र सरकारको पनि सहयोग आवश्यकता पर्ने हुँदा काम अघि बढ्न नसकेको जानकारी दिए। कामपाले गोर्खा भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा ठूलो फड्को मारेको उनले् बताए। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेका छन्।