बाँके। नेपाल र भारतका लागि आयात निर्यातको कोसेढुंगाको रुपमा नेपालगञ्जमा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) को काम धमाधम अघि बढिरहेको छ।
नेपाल र भारतको बीचमा भएको सम्झौताबमोजिम नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा आईसीपी निर्माण भइरहेको हो।
सुक्खा बन्दरगाहको रूपमा रहने आईसीपी निर्माणका लागि नेपाल सरकारले ९१ बिघा जमिन अधिग्रहण गरेको छ। अधिग्रहण गरिएको जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने तथा बाँकी २४ बिघा जग्गा बाटोका लागि छुट्याइएको छ। नेपालकोतर्फबाट सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीच भएको सम्झौतामा उल्लेख छ।
आईसीपीका लागि नेपाल सरकारले जग्गामात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारकोतर्फबाट हुने सम्झौता छ। सम्झौताको १० वर्षपछि नेपालको तर्फबाट निर्माण अघि बढाइएको छ। आईसीपी निर्माण दुई वर्षभित्र सक्ने योजना रहेको छ। भारत सरकारले आफ्नातर्फ २०७५ पुसदेखि नै निर्माण शुरू गरिसकेको संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगञ्जले जनाएको छ। आईसीपी निर्माणका लागि कुल रू २ अर्ब ३५ करोड खर्च लाग्ने अनुमान गरिएको छ।
यो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । सुक्खा बन्दरगाहमा मालसामान आयात निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुनेछन्।