सुर्खेत । कर्णाली प्रदेशमा ६७ प्रतिशत जनसंख्या विद्युत सेवाबाट वञ्चित छन् । सरकारी तथ्याङ्कअनुसार कर्णालीको ३३ प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँचमा छ ।
कर्णाली प्रदेशका ६ जिल्लाका केही नागरिकले मात्र बिजुली बाल्न पाएका छन् भने अझै पनि चार जिल्लामा विद्युत सेवा पुग्न सकेको छैन । कर्णालीका चार जिल्लामा अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत नै पुगेको छैन ।
संघीय, प्रदेश र स्थानीय तहले कर्णाली उज्यालो बनाउन भन्दै हरेक वर्ष केही न केही कार्यक्रम र बजेट ल्याएकै छन् । तर त्यस्ता योजनाले यहाँ प्रकाश छर्न सकेका छैनन् । बजेट थोरै विनियोजन हुनु, ठोस नीति नहुनु तथा योजनाहरू महत्वकांक्षी हुनाले सरकारका कार्यक्रम कार्यान्वयन नभएका हुन् ।
विद्युत पाएका ३३ प्रतिशतमध्ये पनि अधिक संख्याले सौर्य उर्जा उपभोग गर्छन् । न्यून क्षमताका स्थानीय लघु जलविद्युत आयोजना र उच्च हिमाली क्षेत्रका केही स्थानमा वायु उर्जा समेत छन् । कर्णालीमा वैकल्पिक उर्जाको योगदान ३९ प्रतिशत हाराहारीमा छ ।