काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा महत्त्वपूर्ण भएको बताएका छन्। बिहीबार लगानी बोर्डको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा महत्त्वपूर्ण हुने बताएका हुन्।
उनले भने, ‘स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने र बोर्डलाई सार्वजनिक–निजी साझेदारीको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नेगरी संस्थागत क्षमता विकास गरिनेछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने समेत बताए।
कार्यसम्पादन प्रतिवेदन पेस गर्ने क्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्रीबाट प्राप्त मार्गदर्शनअनुरुप परियोजना विकास, लगानी प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि भएका प्रगति, परियोजना कार्यान्वयनका क्रममा देखा परेका समस्या लगायतका बारेमा प्रधानमन्त्रीलाई जानकारी समेत गराए।