कास्की । पोखरा महानगरपालिका वडा नम्बर ८ को सुविधासम्पन्न कार्यालय भवन निर्माण गरिने भएको छ। महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले निर्माण गर्न लागिएको वडा कार्यालयको भवनको बुधबार शिलान्यास गरेकी हुन्।
भवन वडाको न्यूरोडमा निर्माण गरिने भएको छ। महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताइन्।
कूल चौध आना जग्गामा भूमिगत पार्किङ, लिफ्टसहित ६ आनामा पाँच तल्ले सुविधा सम्पन्न कार्यालय र बाँकी जग्गामा बगैँचा अन्य आवश्यक संरचना निर्माण हुने छ। यस भवनको लागत दुई करोड ९७ लाख रहेको छ।
नगरपालिकाका ३३ वडामध्ये आठ वडामा नयाँ भवन निर्माण गरिनुका साथै ११ वटा कार्यालयको स्तरोन्नति गरिएको छ भने अन्य निर्माणाधीन अवस्थामा र पाँच वटाको जग्गा प्राप्तिको लागि पहल भइरहेको जनाइएको छ ।
महानगर प्रवक्ता धनबहादुर नेपालीले महानगरका बासिन्दालाई प्रविधिमैत्री सेवा प्रवाहमा नवनिर्मित सुविधान सम्पन्न भवन कोषेढुङ्गा सावित हुने बताए।