काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनशील उद्योगले सहुलियतमा बिजुली पाउनु पर्ने कुरा बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको नवउत्थान सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने भन्दै स्वदेशमै उद्योगधन्दा बढाई रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
खपत बढाउन सरकारले केकस्तो मोडालिटिमा सहुलियत दिन सकिन्छ, कस्ता उद्योगलाई प्राथमिकता दिने भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए। अर्थमन्त्री शर्माले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सिर्जना गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए। अहिले विद्युत बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनुपर्नेमा उनको जोड थियो।
उद्योगलाई पर्याप्त विजुली उपलब्ध भएमात्रै रोजगारी, उत्पादनदेखि आर्थिक गतिविधि बढ्नेमा सरकारको जोड रहेको उनले बताए। उनका अनुसार नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको छ। देशमा रोजगारी बढाउन, उत्पादन वृद्धि गर्नेतर्फ लगानी बढाउन उद्यमी–व्यवसायीलाई उनले अनुरोध गरे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको लागि आवश्यक भएको बताए। देशमा ठूलो लगानी आवश्यक रहेको भन्दै उनले वैदेशिक लगानीमा जोड दिए। त्यसका लागि एमसीसी आवश्यक रहेको उनको भनाइ थियो। पछिल्लो समय नेपालमा वैदेशिक लगानी, अनुदान वा ऋण आउन नसकेको भन्दै सरकारले यसको लागि पहल गर्नुपर्ने उनको जोड थियो।