काठमाडौं। सुनसरीको इटहरी उपमहानगर, नेपाल नेत्रज्योति संघ र सेवा फाउन्डेसनको सहकार्यमा निर्माण गर्न लागिएको आँखा अस्पतालको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले इटहरीमा आँखा अस्पताल बनेपछि यस क्षेत्र वरपरका नागरिकलाई उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
सो आँखा अस्पताल सहरको महत्त्वपूर्ण अंगका रूपमा विकास हुने उनको भनाइ छ। यसैगरी गुरुयोजना बनाएर नगरको विकास गर्न उनले सुझाव दिएका छन्। इटहरी उपमहानगरका प्रमुखले सो परियोजना छिट्टै सम्पन्न गरी आँखा अस्पताल सुरु हुने प्रतिबद्धता जनाएका छन्।
यसैगरी नेपाल नेत्रज्योति संघका अध्यक्ष चेतराज पन्थले संघको २६औँ अस्पताल इटहरीमा शिलान्यास भएकामा खुसी व्यक्त गरेका छन्। देशका २५ ठाउँमा २५ वटा अस्पताल र १३० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको जानकारी उनले दिएका छन्। १० कठ्ठा क्षेत्रफलमा करिब २५ करोड रुपैयाँ लगानीमा अस्पताल निर्माण हुने योजना रहेको छ।