काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आवश्यकताको आधारमा नभएर पहुँचका आधारमा योजना छनौट भइरहेको बताएकी छन्।
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बिहीबार भएको बैठकमा मन्त्री झाँक्रीले नागरिकस्तरबाट आवश्यकताका आधारमा नभएर पहुँचका आधारमा योजना छनोट भइरहेको बताएकी हुन्।
उनले कतिपय स्थानमा विपन्न नागरिक प्लाष्टिकको छानामुनि बस्न बाध्य भए पनि ‘भ्यु टावर’ लगायतका संरचनामा बजेट छुट्ट्याएर अनावश्यक खर्च गरेको बताएकी छन्।
मन्त्री झाँक्रीले उपभोक्ता समितिका नाममा राजनीतिक दलले कार्यकर्तामार्फत भ्रष्टाचार गरिरहेको समेत बताइन्।
मन्त्रालयले सरकारी भवन निर्माण, आवास, सडक, सिँचाइ, ढललगायतका संरचना निर्माण गरिरहेको भए पनि जनशक्ति पर्याप्त नभएको उनले बताइन्। ‘स्थानीय पूर्वाधार विभागमा जनशक्ति भएकाले त्यो विभागको जनशक्ति जिम्मेवारीसहित हामीसँग ल्याउनुपर्छ’, मन्त्री झाँक्रीले भनिन्।