कास्की। मादी गाउँपालिकास्थित ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण कार्य पूरा हुन लागेको छ। पाँच हजार चार सय मिटर लामो सुरुङ अब ६५ मिटर मात्र खन्न बाँकी रहेको हो।
सुपर मादी हाइड्रो पावरले प्राविधिक रुपमा कुनै समस्या नआए अबको दुई सातामा सुरुङ खनेर पूरा हुने जानकारी दिएको छ।
मुख्य सुरुङको पाँच हजार तीन सय ३५ मिटर खन्ने काम सकिएको छ भने अहिले पेनस्टक पाइप जडानको काम भइरहेको छ ।
आयोजनाको सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ। बाँध, विद्युतगृह सबै क्षेत्रको काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाको सबै काम पूरा गरेर आगामी असारमा उत्पादन सुरु गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। आयोजनाबाट आगामी चैत्रदेखि उत्पादन सुरु गर्ने योजना रहेपनि गत असार १ गते मादी खोलामा आएको बाढीले आयोजनाको संरचना नै भत्काएपछि विद्युत उत्पादन तालिका धकेलिएको हो।