काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रसँग मिलेर ५०० वटा चार्जिङ स्टेशन बनाउने भएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गरी चार्जिङ स्टेशन बनाउने बारे जानकारी गराएको हो ।
प्राधिकरणले सूचनामा स्टेशन बनाउन इच्छुक निजी संस्थाले कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, ‘नेपाल सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने उद्देश्यले यो वर्ष देशभरका विभिन्न निजी संस्थाहरूसँग मिलेर ५०० वटा चार्जिङ स्टेशन पूर्वाधार निर्माण गर्ने कार्यक्रम तय गरेको छ । प्राधिकरणले आवश्यकता अनुसार देश भरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थासँग सहकार्यका लागि कार्यक्रम तयार गरेको छ ।’
स्थानीय स्तरमा चार्जिङ स्टेसन जडान गर्न इच्छुक निजी संस्थाहरूले प्राधिकरणमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।