काठमाडौं । सिन्धुली जिल्लामा निजी आवास निर्माण गरेका भूकम्पपीडितले सरकारी अनुदानको किस्ता पाएका छैनन्। निजी आवास निर्माण गर्ने लाभग्राही सूचीमा परेका भूकम्पपीडितले पाउने अनुदानबापतको रकम गत साउनदेखि नै नआएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) सिन्धुलीले जानकारी दिएको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि केन्द्रबाट अनुदानबापतको रकम जिल्लामा नआएको जनाइएको छ।
एकाइका लेखापालले कर्मचारीले समेत साउनदेखि हालसम्म तलब नपाएको जानकारी दिएका छन्। घर बनाइसकेर इन्जिनियरलाई सबै कागजपत्रसहित किस्ता माग गरी बुझाइसकेका कमलामाई नगरपालिका–४ का भूकम्पपीडितले बताएका छन्। तर अहिलेसम्म किस्ता पाएका छैनन्। अनुदान रकम दिने जिम्मेवारी पाएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भदौ मसान्तपछि खारेज हुँदा आफूहरूले दुःख पाएको भूकम्पपीडित लाभग्राहीहरूको गुनासो रहेको छ। सो कार्यालय खारेजीसँगै सिन्धुली जिल्लामा भूकम्पको काम हेर्ने जिम्मेवारी सहरी विकास तथा भवन डिभिजन कार्यालयले पाएको छ।
भूकम्प गएको छ वर्ष बितिसक्दा पनि सिन्धुलीमा निजी आवास पुनर्निर्माणको काम सकिएको छैन। एकाइका अनुसार ४० हजार ३१० जना लाभग्राहीमध्ये गत असार मसान्तसम्म ३३ हजार ६७४ जनाले निजी आवास निर्माण गरी अनुदानबापतको तेस्रो किस्ता बुझेर लगीसकेका छन्। सरकारले भूकम्पबाट भत्केका निजी आवास पुनर्निर्माण र मर्मतका लागि यही पुस महिनासम्म समय सीमा तोकेको छ। तोकिएको समय सीमाभित्र निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता रकम ३८ हजार ८१५ जना र दोस्रो किस्ता रकम ३६ हजार ५६९ जना लाभग्राहीले बुझेका छन्।
लाभग्राहीलाई सरकारले निजी आवास पुनर्निर्माण गर्न तीन किस्तामा गरी तीन लाख रुपियाँ अनुदान दिँदै आएको छ। त्यसैगरी प्रबलीकरण (घर मर्मत) तर्फका कुल १२ हजार ७५८ लाभग्राहीमध्ये १० हजार ७३४ जनाले सम्झौता गरी पहिलो किस्ताबापतको ५० हजार रुपियाँ बुझेका छन् भने प्रबलीकरणका कुल लाभग्राहीमध्ये ६५६ जनाले मात्रै अन्तिम किस्ता रकम बुझेका छन् । प्रबलीकरणका लाभग्राहीलाई सरकारले पहिलो र दोस्रो गरी दुई किस्तामा एक लाख रुपियाँ अनुदान दिँदै आएको छ।