कालिकोट। गत वर्ष साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु ४ करोड लागतमा १०१ घर निर्माण हुने भएका छन्। बाढीपहिरो विस्थापित घरपरिवारका लागि चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाको वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण हुने भएका हुन्।
उक्त बाढीपहिराका कारणले नरहरिनाथ गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका थिए। विस्थापित भएकामध्ये आर्थिक वर्षमा रु १ करोड ७० लाख लागतमा ५५ घर निर्माण गरिएका र थप १०१ घर निर्माण गरिने गाउँपालिकाका उपाध्यक्षले जानकारी दिएका छन्। नमूना बस्तीमा रु ४० लाखमा विद्यालय भवन निर्माण हुने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु २६ लाख लागतमा विद्यालयको फिल्ड निर्माण गरिने उपाध्यक्षले बताएका छन्। उनले नमूना बस्तीमा ५५ घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको जानकारी दिएका छन्। साथै खानेपानी, विद्यालय निर्माणलगायत भौतिक पूर्वाधारका संरचना निर्माण गरिसकेको हुनाले बस्ती पुनःनिर्माणको कामलाई यथाशीघ्र बढाई समयमै काम सम्पन्न गर्ने गरी कामको थालनी भएको जनाइएको छ।
हाल बाढीपहिराबाट पूर्णरूपमा क्षति भएका घरको पुनःनिर्माणका गर्नका लागि वडा कार्यालयमार्फत लागत सङ्कलन भइरहेको छ। पूर्णरूपमा क्षति भएका घर निर्माणको लागि गाउँपालिकाले १० प्रतिशत लगानी गर्ने र बाँकी सङ्घीय सरकारसँग सहयोगका लागि पहल गर्ने योजना रहेको छ। यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका कालिकोटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख र विपद् व्यवस्थापन समितिका अन्य पदाधिकारीले बाढीपहिरो पीडितसँग भेटघाट तथा गत आर्थिक वर्षमा पुनःनिर्माण भएका घरको अनुगमन साथै नयाँ बन्ने घर निर्माणका लागि समुदायसँग भेटघाट गरिएको उपाध्यक्षले जानकारी दिएका छन्।