तनहुँ। मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत दमौली बजारमा सडक क्षेत्रमा पर्ने संरचना भत्काइने भएको छ। आइतबार बसेको सरोकारवालाको बैठकले सडकको नाप अनुसार भत्काउनुपर्ने घर भत्काउने निर्णय गरेको हो।
भत्काउने घरहरूको मुआब्जा प्राप्त नभएको गुनासो आएकाले मुआब्जा प्राप्त गर्नुपर्ने घरहरूलाई तत्काल मुआब्जा उपलब्ध गराउने र घर भत्काई निर्माण सम्पन्न भएका घरहरूको दोस्रो किस्ता उपलब्ध गराउने समेत निर्णय भएको छ।
व्यास नगरपालिका–२, ३ र ४ को बजार क्षेत्रमा विद्युत पोल गाड्ने, नाला निर्माण गर्ने कार्यमा केही घरहरु भत्काउन बाँकी रहेकाले सम्बन्धित वडाध्यक्ष, नगरपालिकाका प्राविधिक, सडक आयोजनाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिसमेतको रोहबरमा ६ दिनभित्र घर हटाउने प्रक्रिया अगाडि बढाउने निर्णय हो।