हेटौंडा। करोडौं लागत खर्च हुँदा पनि पूर्णरुपमा निर्माण सम्पन्न नभएको शहीदको नामको सभागृह भत्काएर वागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो १३ तले भवन निर्माण हुने निश्चित भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, हुप्रचौरमा १३ तले बहुउद्देश्यीय भवन निर्माणका लागि सम्झौता गरिएको हो।
उपमहानगर मेयर हरिबहादुर महतको रोहवरमा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र लामा, रसुवा, बानियाँ जेभीका सञ्चालक ऋषि बानियाँबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। कुल ७७ करोड ९३ लाख ७२ हजार रुपियाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपियाँ लागतमा जेभीले ठेक्का सम्झौता स्विकार गरेको छ। सो भवनमा दुई तलाको अन्डरग्राउन्ड, चार लिफ्ट, दुई भर्याङ, सबभन्दा माथि भ्युटावर निर्माण गरिने उपमहानगरले जानकारी दिएको छ। व्यापारिक भवनको सबभन्दामाथि रहने भ्युटावरबाट हेटौंडा र आसपास क्षेत्र सहजरूपमा हेर्न सकिने बताइएको छ।
निर्माण सुरु भएको तीन वर्षमा काम सक्ने गरी ठेक्का दिइएको उपमहानगर योजना महाशाखा प्रमुखले बताएका छन्। लामो समयदेखि निर्माणाधीन शहीद वासुदेव सभागृहपरिसरमा नै उक्त टावर निर्माण गर्न लागिएको हो। तर, उक्त स्थानमा भ्युटावर बनाउने भन्दै हेटौंडा उपमहानगरपालिकाले निर्णय गरेको थियो। करिब १ बिगाहा क्षेत्रमा बन्ने भ्युटावरका लागि उपमहानगरले २ करोड छुट्याएको थियो। सभागृहलाई प्रदेशसभा भवनका रूपमा निर्माण गर्न प्रदेश सरकारले पनि अग्रसरता देखाएको थियो। प्रदेशको राजधानी भएपछि उपयुक्त प्रदेशसभा भवन नहुँदा समस्या भएको कारणले प्रदेश सरकारले पनि अग्रसरता देखाएको हो। प्रदेश सरकारले उक्त भवन निर्माणको लागि २ करोड बजेट विनियोजन गरेको छ।
२०६३ मा निर्माण सुरु भएको सभागृह निर्माणका लागि ३ वर्षसम्म लगातार स्थानीय विकास मन्त्रालयको जगेडाकोषको १ करोड ३० लाख खर्च गरिएको थियो। त्यसपश्चात सो सभागृह निर्माणको काम अघि बढ्न सकेन। त्यसैले गर्दा सभागृहलाई सुधारसाथ अघि बढाउन तत्कालीन समयमा करिब ४ करोड ३५ लाख लाग्ने नगरपालिकाले अनुमान गरिएको थियो। तर हाल भएका संरचनामा जति खर्च गरे पनि प्रयोग गर्न नसकिने देखिएका कारण भत्काएर वहुवर्षे योजनाअन्तर्गत कमर्सियल भ्युटावर निर्माण गर्न लागिएको हो। २०६३ सालमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको पहलमा निर्माण सुरु भएको सभागृहको नाम ‘ज्ञानेन्द्र सभागृह’ राखिएको थियो। सो भवनको जनआन्दोलनपछि मकवानपुरका शहीद वासुदेव घिमिरेको नाममा नामकरण गरिएको थियो।