काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अदालतको आदेशलाई महानगरको भनेर गलत व्याख्या नगर्न आग्रह गरेका छन्। साहले नदी वरपरको निषेधित क्षेत्रमा संरचना निर्माण गर्न नपाउने विषयमा गलत व्याख्या नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।
उनले ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो’ भन्दै नागरिकलाई समेत सचेत हुन् आग्रह गरेका छन्।
सर्वोच्च अदालतको आदेश आए पछि महानगरले बागमती, विष्णुमतीमा ४० मिटर, टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएको भन्दै उनले त्यो जग्गामा अब थप संरचना बनाउन नपाइने जानकारी समेत गराएका छन्।
उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन। अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ।’
