काठमाडौं । बीमा कम्पनी र निर्माण व्यवसायी महासंघबीच एक्सेस भ्यालुमै बीमा गराउने सहमति भएको छ ।
विभिन्न कारणले समयमा काम पूरा नभएका आयोजनाहरुको पुन:बीमा गर्दा बीमा कम्पनीले एक्सेस भ्यालु वृद्धि गरेकोमा नेपाल निर्माण व्यवसायी महासंघको पहलमा सरोकारवालाबीच भएको छलफलपछि एक्सेस भ्यालुमै बीमा गराउने सहमति भएको हो ।
कोभिड–१९ लगायत विभिन्न कारणले काम हुन नसकेका आयोजनाहरूको म्याद थपको लागि भदौ ३ को मन्त्रिपरिषद् निर्णयानुसार खरिद सम्झौताको २०७८ साल चैत्र मसान्तसम्मको लागि म्याद थप गरिएको थियो । ती ठेक्काहरुको म्याद थप गर्दा आवश्यक पर्ने पुर्नबिमाका लागि बीमा कम्पनीहरूले बीमा नवीकरण गर्दा तोकिएको भन्दा बढी रकम वृद्धि गरी आफुखुशी पहिला जारी भएको बीमा शुल्कमा अत्याधिक रूपले बिमा शुल्क लिन बाध्य बनाइएको थियो । नेपाल निर्माण व्यवसायी महासंघको पहलमा सरोकारवालाबीच भएको छलफलपछि यो समस्या समाधान भएको छ ।
महासंघका पदाधिकारी, बीमा समितिका पदाधिकारी र नेपाल बीमक संघका पदाधिकारीबीच भएको छलफलमा निर्माण सम्पन्न नभएका र नेपाल सरकारबाट म्याद थप भएका आयोजनाहरूको हकमा थप भएको समयावधिका लागि नेपाल बीमक संघ र महासंघबीच आपसमा समन्वय गरी एक्सेस भ्यालुकै सेवा सर्त तोकी उपयुक्त दररेटमा बीमा गर्ने गराउने सहमति भएको र सोही बमोजिम कार्य गर्न महासंघले अनुरोध गरेको छ ।
महासंघका महासचिव रोशन दाहालद्वारा शुक्रबार जारी विज्ञप्तिमा कुनै पनि निर्माण कार्यको त्रुटी सच्याउने अवधिको बिमा, म्याद थप गर्दा गरिने बिमा लगायतका समस्या सम्बन्धमा नेपाल सरकारका सरोकारवाला निकायसँग बीमा समितिले निकट भविष्यमा अन्तरक्रिया गरी समस्या समाधान गर्ने निर्णय भएको समेत जानकारी गराइएको छ ।