काठमाडौं। ११ पटक म्याद थप गर्दा पनि चोभारमा पुष्प तथा फलफूल थोक बजारको भवन निर्माण कार्य पूरा हुन सकेको छैन। असार २०७३ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम अझै १३ प्रतिशत बाँकी छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले शुक्रबार उक्त बजारको भवनको स्थलगत निरीक्षण गर्दै निर्माण कार्य समयमै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
उनले भवन निर्माणको काम तत्काल पूरा नगरे कारबाही गर्ने निर्माण कम्पनीलाई चेतावनी समेत दिएका छन्। उक्त बजार तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले त्यसका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार रहेको बताए।