काठमाडौं। नेपाल आयल निगम लिमिटेडको बबरमहलस्थित केन्द्रीय कार्यालय भत्काउन सुरु गरिएको छ। सो स्थानमा पुरानो भवन भत्काएर १० तले नयाँ कर्पोरेट कार्यालय बनाउन समानान्तर निर्माण सेवासँग ठेक्का सम्झौता भएपछि भत्काउन थालिएको हो। एक साताअघिबाट भत्काउन थालेको पुरानो भवन दुई महिनाभित्र भत्काइसक्ने लक्ष्य राखीएको समानान्तर निर्माण सेवाले जानकारी दिएको छ।
हाल भत्काइरहेको भवन ०७२ सालको विनासकारी भूकम्पले चर्काएको थियो। त्यसपछि सोही ठाउँमा नयाँ भवन बनाउने योजना बनाएपनि गत वर्ष मात्रै टेन्डरर आह्वान भई निर्माणका लागि ठेक्का सम्झौता भएको हो। समानान्तर कम्पनीले निर्माण सुरु गरेको तीन वर्षभित्र नयाँ भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। सो भवन निर्माणमा तत्कालीन समयमा उपलब्ध सबैभन्दा गुणस्तरीय इँटा, सिमेन्ट, ढुंगा, गिट्टी, काठ, फलामलगायतको उपयोग गरिएको थियो। त्यसैले गर्दा सो भवन निर्माणमा प्रयोग भएको कंक्रिट उपयोग हुने देखेर ५४ लाख रुपैयाँ आयल निगमलाई समानान्तर निर्माण सेवाले दिने सहमति भएको छ।
पुरानो भवनमा प्रयोग भएको कंक्रिटको मोल पाउनुपर्छ भनेर नयाँ टेन्डर आह्वान गर्दा नै सर्त राखेको र त्यसमा सारभूत रूपमा प्रभावकारी ठहरिएको समानान्तरले ५४ लाख रुपैयाँ कबोल गरी भवन भत्काउने प्रस्ताव पेस गरेकोमा समानान्तरको प्रस्ताव पास भएर भवन भत्काउन थालिएको निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगर प्रमुखले जानकारी दिएका छन्। त्यसैगरी पुरानो भवनको मुख्यद्वारमा प्रयोग भएको गेटमा प्रयोग भएको काठ दुर्लभ भएकाले नयाँ भवनमा पनि सोही काठ प्रयोग गरी प्रवेशद्वार बनाउने निगमको योजना रहेको कारणले उक्त गेट निगमले नै राख्ने भएको छ।
पुरानो भवन भत्काउने काम सकिएपछि नयाँ भवन निर्माण सुरु गर्ने जनाइएको छ। नयाँ भवनको बेसमेन्ट (अन्डरग्राउन्ड) पार्किङ दुई तलाको हुने जनाईएको छ। त्यसपछि जमिनमाथि चार तलाको आधुनिक भवन र ६ तलाको टावर गरी सो भवन १० तलाको बन्ने योजना रहेको छ। यसैगरी दशौँ तलामा बैठक, गोष्ठी र अन्तर्क्रिया गर्न मिल्ने सभाहल निर्माण हुने योजना रहेको छ। साथै नेपालकै आधुनिक र सुविधासम्पन्न भवनमध्येमा सूचीकृत हुने गरी बन्न लागेको सो भवनको प्रत्येक कोठा कुन तहको कर्मचारीलाई कति खुला ठाउँ हुनुपर्ने भन्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने जनाइएको छ।