काठमाडौं । धादिङको ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चिनियाँ लगानीमा निर्माणाधिन १६ अर्बको ह्वासिन सिमेन्ट उद्योगको निर्माण करिब सम्पन्न हुन लागेको हो ।
उद्योगले यसै वर्षको तिहारपछि उत्पादन शुरु गर्ने बताइएको छ । उद्योगले शुरुको २ महिना परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन थाल्ने जनाएको छ । ह्वासिन सिमेन्टले वार्षिक पाँच लाख ६० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ४० हजार टन पीपीसी सिमेन्ट, चार लाख टन पीएससी सिमेन्ट र १० लाख ९५ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्यका साथ करिब १६ अर्बको लगानीमा उद्योग स्थापनाका लागि पुर्वाधार निर्माण गरिरहेको छ ।
ह्वासिन सिमेन्टका लगानीकर्ता चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपाली साझेदार वैद्य अर्गनाइजेसनका सुरज वैद्य रहेका छन् । ह्वासिन सिमेन्ट नारायणी प्रालिमा वैद्यको २० प्रतिशत लगानी छ भने चिनियाँ ८० प्रतिशत लगानी रहेको उद्योगले जनाएको छ ।