काठमाडौं। हस्पिटालिटी क्षेत्रमा आक्रामक पोखराको बाराही समूहको एक अर्ब ३० करोड लागतको काठमाडौं बाराही होटल आउँदो अप्रिलबाट सञ्चालनमा आउने भएको छ। डिजाइनअनुसार निर्माणको काम भइसकेको होटलमा हाल इन्टेरियरका काम भइरहेका छन्।
कान्तिपथस्थित यो चारतारेस्तरको होटलसँगै निर्माण सम्पन्न भएको सपिङ कम्प्लेक्स बाराही प्लाजा भने आउँदो जनवरी १ देखि सञ्चालनमा आउने भएको छ। पोखरेली पर्यटन व्यवसायी पौडेलका अनुसार परियोजना डिजाइन गर्दा सुरुमा ९० करोड रुपैयाँ लागत हुने अनुमान थियो। बिजनेस कम्प्लेक्ससहितको होटल सञ्चालनमा आउँदासम्म अब थप ४० करोड रुपैयाँ लागत बढ्ने देखिएको छ।
भवनको चौथो तलादेखि माथिका आठवटा तलासम्म होटल रहने छ। होटलमा रहने ८० वटा रुममध्ये आठ सुइट र ७२ वटा डिलक्स रहने उनले जानकारी दिए। अहिले कमर्सियल कम्प्लेक्सका लागि बुकिङ खुला गरेका छौं। जनवरी १ बाट सञ्चालनमा ल्याउँछौं।
सपिङ कम्प्लेक्ससहितको होटलमा ७० वटा चारपांग्रे सवारी अट्ने हाइड्रोलिक पार्किङ हुनेछ। होटल व्यवसायमा अग्रणी रहेको बाराही ग्रुपले ठमेल प्रवेशद्वारमा होटल सञ्चालनमा ल्याउने भएको हो।
नेपालका होटलहरुमा विदेशी चेन व्यवस्थापनहरू आइरहेका बेला बाराहीले भने त्यस्तो योजना अघि सारेको छैन। काठमाडौं, चितवन र पोखरामा होटल(रिसोर्टको आफ्नै सञ्जाल तयार पारेको समूहले विदेशी पाहुनालाई रुचाएको ठाउँमा सेवा दिने व्यवस्था मिलाएको छ।
बाराही समूहले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै यो होटल निर्माण सुरु गरेको थियो। कोभिड(१९ का कारण सञ्चालनमा ल्याउन ढिलाइ भएको हो। सोहि समूहले पोखराको लेकसाइडबाट ४० वर्ष अघि सुरु गरेको हस्पिटालिटी बिजनेसलाई लगातार बिस्तार गरेको छ।