काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेशन निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट बाहिरिएको छ। रकम अभावका कारण लामो समयदेखि निर्माण कार्य अघि बढाउन नसकेको फाउण्डेसन औपचारिक रुपमा नै रङगशाला निर्माण कार्यबाट पछि हटेको हो।
फाउण्डेशनले भरतपुर महानगरपालिकालाई क्रिकेट रंगशालाको स्वामित्व लिनका लागि पत्रचार गरेको छ।
रंगशाला निर्माणका लागि आवश्यक रकम जुट्न नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको फाउण्डेशनले जनाएको छ।
‘फाउण्डेशन र भरतपुर महानगरपालिका बीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रङगशाला निर्माण कार्य कठिनाई भएको छ,’ फाउण्डेशनले पत्रमा उल्लेख गरेको छ।
सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ। सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ।
यस विषयमा महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ।