काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय भवन निर्माणका लागि दिइएको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। व्यापारी मीनबहादुर गुरुङले एमालेलाई पार्टी कार्यालयको भवन निर्माण गर्न जग्गा दिनु भ्रष्टाचारजन्य अपराध भएको भन्दै अधिवक्ता ज्ञान बहादुर बस्नेतलगायतले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।
गुरुङ दम्पतीले काठमाडौँको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा एमाले पार्टी कार्यालयको लागि जग्गा दान गरेका थिए। उक्त जग्गामा भवन निर्माणका लागि गत असोज २५ गते प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी ओलीले शिलान्यास समेत गरेका छन्।
व्यवसायीले कुनै पार्टीको गतिविधिका लागि यसरी अर्बौँको जग्गा दान गर्नु ‘गम्भीर भ्रष्टाचारजन्य अपराध, राज्यसत्ताको भयानक दुरुपयोग र नैतिक र कानुनी अपचलन’ भएको भन्दै जग्गा लेनदेन कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।