काठमाडौं। भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ मा सहिद सन्देश राईको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ। गत शुक्रबार नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले पौवादुङ्मा गाउँपालिका–६ ठुलो दुङ्मामा सहिद सन्देशका बुवा आमालाई नयाँ घर हस्तान्तरण गरेका हुन्।
उदयपुरमा तत्कालीन शाही सेनासँगको मुठभेडमा सहिद भएका सन्देशका आमा बुवालाई स्थानीय पार्टीको सक्रियतामा पाँच लाखमा घर निर्माण गरिएको हो। घर निर्माणमा सांसद समेत रहेका किरातीले छानोका लागि एक महिनाको सेवा सुविधा बापतको ८० हजार रकम उपलब्ध गराएका थिए।
घर हस्तान्तरण कार्यक्रममा बोल्दै किरातीले जनयुद्ध र सहिदहरूमाथि अपनान नगर्न चेतावनी समेत दिए।