काठमाडौं। लुम्बिनी सरकारको आधुनिक प्रशासनिक भवनको निर्माण कार्य हालसम्म आधाभन्दा बढी पूरा भएको छ। प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा ३ अर्ब ९ करोड रूपैयाँ लागतमा निर्माण गरिरहेको भवनको काम ६० प्रतिशत पूरा भएको हो।
राजधानी गुरूयोजनामा १६ बिघा क्षेत्रफलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा प्रशासनिक भवन निर्माण भइरहेका छन्। भवन निर्माणका लागि २०८२ साल पुस १७ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी २०७९ मंसिर २८ गते शर्मा–सुगन जेभी कम्पनीसँग सम्झौता भएको थियो।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका यी भवन सबै मन्त्रालय एउटै डिजाइनमा निर्माण भइरहेका छन्। तिव्र गतिमा निर्माण कार्य भइरहेको भन्दै सरकारले समयमै रकम भुक्तानी गरेमा सम्झौता अगाडि नै भवन निर्माण पूरा हुने निर्माण कम्पनीले दाबी गरेको छ।