काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुख्खायाममा भारतबाट २३० मेगावाट बिजुली आयात गर्न सम्झौता भएको जानकारी दिए। ऊर्जामन्त्री खड्काले आफू मन्त्री भएको १०० दिनको उपलब्धिहरू सार्वजनिक गर्दै सुख्खायाममा भारतबाट २३० मेगावाट बिजुली आयात गर्न सम्झौता भएको बताएका हुन्।
गत असोज तेस्रो साता हरेक वर्ष फेब्रुअरीदेखि मे सम्म विद्युत् आयात गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता भएको थियो ।
ढल्केबर–मुजफ्फरपुर ४०० के.भी प्रसारण लाइनबाट २०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ के.भी. प्रसारण लाइनबाट ३० मेगावाट रियल टाइम मार्केटबाट बिजुली आयात गर्ने गरी विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको थियो।
त्यसैगरी मन्त्री खड्काले आफ्नो सय दिनको अवधिमा वर्षायाममा बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने ऐतिहासिक सम्झौता भएको समेत बताए।