भोजपुर। जिल्ला अस्पताल परिसरमा ‘नर्सिङ क्वाटर’ भवनको निर्माण सुरु गरिएको छ। ब्राइटबुल युडी विल्डर्स जेभीले क्वाटर भवन बनाउन सुरु गरेको हो।
सघनसहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटसहित तीन करोड ३२ लाख लागतमा भवन निर्माण सुरु गरिएको छ। निर्माणको सम्झौता विसं २०७८ को भदौ महिनामा भएको हो। सम्झौता अनुसार एक वर्ष भित्रमा निर्माण सक्नुपर्ने भएतापनि त्यो समय अवधि भन्दा अगाडी नै निर्माण सम्पन्न गर्ने कम्पनीले बताएको छ।
निर्माण सुरु गरेको छोटो समयमै लगभग ५० प्रतिशतकाम सम्पन्न भएको छ। बिशेष गरी यहाँ कार्यरत नर्सहरुलाई लक्षित गरेर उक्त भवन निर्माण गरिएको हो। दुई तलाको भवनमा आठ परिवारलाई बस्न मिल्नेगरी आवश्यक सुविधा सम्पन संरचना निर्माण हुने अस्पतालले जनाएको छ।
भवनको कामलाई गुणस्तरीय बनाउनका लागि तोकिएको मापदण्ड अनुसारको सामग्री मात्र प्रयोग गरिएको सघनसहरी तथा भवन निर्माण आयोजना कार्यालय धनकुटाले बताएको छ।
पहाडी जिल्ला साथै आवश्यक सुविधाहरुको कमीको कारण स्वास्थ्यकर्मी तथा डाक्टर कमै मात्र यहाँ बस्ने गरेका छन्। केही समय बस्ने र केही समयपछि सुविधायुक्त स्थानमा सरुवा हुने भएकोले यहाँको स्वास्थ्य सेवा कमजोर बन्दै गएको छ। आवाससँगै अन्य सुविधामा सुधार गर्ने काम भएकाले अब त्यो समस्या बाट मुक्त हुने स्थानीयहरुले आशा गरेका छन्।