काठमाडौं। राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरचना निर्माणको काम अब चाँडै सुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरचना निर्माण कार्य चाँडै सुरु हुने जानकारी दिएका हुन्।
मन्त्री पौडेलले मंगलबार रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित निर्माणस्थल राजविराज–१० विरौलमा जग्गा निरीक्षण गरेका थिए। उक्त निरीक्षणका क्रममा मन्त्री पौडेलले देशकै गौरबको रूपमा रामराजा प्रतिष्ठानको विकास गर्ने सोचका साथ सरकार अघि बढेको समेत बताए।
वातावरणीय प्रभाव मूल्यांकन स्वास्थ्य मन्त्रालयबाट वन मन्त्रालयमा गइसकेको र त्यहाँबाट पास भएपछि पूर्वाधार निर्माणकाे टेण्डर गरी छिटो प्रतिष्ठान निर्माणको कार्य अघि बढ्ने मन्त्री पौडेलले बताए।
रामराजा प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा पशुपति चौधरीले सरकारले यसवर्ष रामराजा प्रतिष्ठान निर्माणका लागी ४० करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिए।