काठमाडौं। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित धनगडवामा अस्पताल निर्माण गर्न थालिएको छ। संघीय सरकारको स्वास्थ्य मन्त्रालयले अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेसँगै सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न थालिएको हो।
अस्पताल निर्माणका लागि स्थानीयले दुई बिघा छ कठ्ठा जग्गा दान दिएका थिए। सोही जग्गामा अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको पालिकाले जनाएको छ।
अस्पताल निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ।
अस्पताल निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन्। वर्षौँदेखि स्वास्थ उपचारका लागि परासी, भैरहवा, बुटवललगायत स्थानमा जानुपर्ने बाध्यता हट्ने भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका हुन्।