म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–१ खहरेस्थित सिद्ध आधारभूत विद्यालयको पक्की भवन निर्माण भएको छ। श्रमदानसहित कूल रु एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा उक्त भवन निर्माण भएको हो।
विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको बताईएको छ। स्थापना भएको लामो समयपछि विद्यालयको पक्की भवन निर्माण हुँदा विद्यालय परिवारदेखि स्थानीयसम्म सबै खुशी भएका छन्।
तीनवटा भवनमा आठवटा कोठा रहेको विद्यालयले जनाएको छ। उक्त भवन निर्माण हुन अगाडी स्थापना कालदेखिनै कच्ची भवनमा पठनपाठन हुँदै आएको विद्यालयले बताएको छ। उक्त कच्ची भवनबाट विद्यालय सञ्चालन गर्दा निकै समस्या भोग्नु परेको विद्यालयको भनाई छ।
उक्त नयाँ भवनको संविधानसभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेशका पूर्वमन्त्री नरदेवी पुन र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका हुन्।